कामपाका हरेक वडामा पार्क बनाइने
काठमाडौँ, असार १५ गते । काठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल कामपाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेका कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही पार्क निर्माण भइसकेका छन् भने केही निर्माण हुने प्रक्रियामा रहेका छन् । निर्माणको प्रक्रियामा रहेका पार्क पनि यही असार २५ गतेसम्ममा सम्पन्न भइसक्ने छन् । ३५ वटै वडामा पार्क बनाउने तयारी कामपाको रहेको छ । पार्क निर्माण गरिएका स्थानमा हरियाली बनाउनका लागि विभिन्न किसिमका फूल रोप्ने काम पनि भएको छ ।
यसैबीच, कामपाले १८औँ सार्क शिखर सम्मेलनमा रोपेका बोटबिरुवाको पनि संरक्षण गरिएको छ । उक्त समयमा त्रिपुरेश्वर, थापाथली, माइतीघर, सुन्धारा, कालीमाटी, टेकु लगायतका स्थानमा सातसय बिरुवा रोपेकामा एकसय बिरुवा भाँचिने र उखेलिने भएको थियो । सबै स्थानमा उखेलिने र भाँचिएका झन्डै एक सय बिरुवा रोप्ने काम पनि कामपाले गरिसकेको छ । – रासस