सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी

२०७३ असार २२ गते, बुधबार

काठमाण्डौ, २२ असार । नवलपरासीमा यतिबेला स्थानीयवासी सिमसार क्षेत्रको संरक्षणमा लागिपरेका छन् । जिल्ला भूसंरक्षण कार्यालयको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा रहेका नदी, तलाउ, पोखरीसँग सम्बन्धित सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी लागिपरेका हुन् ।
विशेषगरी जिल्लाको मनरीस्थित जावा पोखरी र प्रसौनीस्थित तुरतुरे खोला सिमसार क्षेत्र संरक्षणमा स्थानीयवासी एकजुट भई लागेका हुन् । स्थानीयवासीसँग सहकार्य गरेर भूसंरक्षण कार्यालयले समेत सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न काम गरेको जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख श्यामसुन्दर श्रेष्ठले बताए ।
भूसंरक्षण कार्यालयले समेत सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासीसँग हातेमाले गर्दै काम गरिरहेको छ जसअन्तर्गत ती सिमसार क्षेत्रमा बोटबिरुवा वृक्षारोपण, नदी, तलाउ, पोखरीको डिल मर्मतसम्भारलगायत काम भइरहेको कार्यालयका इन्जिनियर राजु बर्जाचार्यले बताए ।
सिमसार क्षेत्रको संरक्षण गर्दा नदी, तलाउ, पोखरीनजिक रहँदै आएका विभिन्न प्रजातिका जनावर तथा चरालाई समेत सहयोग मिलेको छ । सिमसार क्षेत्रमा लोपोन्मुख प्रजातिका जनावर र चराहरुले उचित बासस्थान पाएको कार्यालयका सहायक भूसंरक्षण अधिकृत रोवर्ट महराले बताए ।
नवलपरासीमा विशेषगरी जिल्लाको सिमासार क्षेत्रमा पाइने विभिन्न नदी, तलाउ, पोखरीवरपर बासस्थान बनाएर हाँस, चराचुरुङ्गीसमेत संरक्षित बनेका छन् । विशेषगरी जिल्लाको मनरीस्थित जावापोखरी सिमसार क्षेत्रमा लोपोन्मुख चराचुरुङ्गी पाइन्छन् । पाँच बिघा क्षेत्रफलमा फैलिएको जावापोखरी सिमसार क्षेत्र विगत ५०० वर्षअघि देखि नै स्थानीय प्रजातिको तेल हाँससहित अन्य प्रजातिका चराको आश्रयस्थल बन्दै आएको तथ्य छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु