बोलबम तीर्थयात्रीको आगमन हुँदै

२०७३ असार २८ गते, मंगलवार

काठमाडौँ, २८ असार । महादेवको प्रिय दिन साउन महिनाको सोमबारका लागि उपत्यकामा भव्य बोलबम तीर्थयात्राको तयारी भएको छ । भारत बिहारको मुजफ्फरपुरबाट गुड्डु रङ्गिलाको अगुवाइमा सयौँ बोलबम तीर्थयात्रीको यहाँ आगमन हुँदैछ । रङ्गिलाको बोलबम टोलीलाई स्वागत गर्न ओम् बोलबम कवँरिया सङ्घका कार्यकारी अध्यक्ष सुनील ठाकुर (डिल्लीबजार)को अगुवाइमा सोमबार सङ्घको कार्यसमिति बैठक बस्यो । ठाकुरकै अगुवाइमा यहाँ योपल्ट बृहत् बोलबम यात्रा हुँदैछ ।
अध्यक्ष ठाकुरका अनुसार बोलबम र भोलेबाबा, भोलेनाथ, हरहर शङ्कर नामका आधा दर्जन संस्थासहित मुजफ्फरपुरबाट आउने बोलबमका सयौँ यात्री सुन्दरीजलबाट जलको घडा लिएर पैदलै पशुपतिनाथ मन्दिर प्रवेश गर्नेछन् ।
काठमाडौँ उपत्यकामा कामकाजका क्रममा रहेका तराईवासीको ठूलो जमात यो यात्रामा सरिक हुँदैछ । बोलबम तीर्थयात्रीको भीडलाई सहज रूपमा पशुपतिनाथको दर्शन प्रबन्ध गरिएको छ । पशुपति क्षेत्र विकास कोषका मन्दिर प्रशासन हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार बोलबम यात्रीका लागि अन्य बेला शुल्क लिएर गरिँदै आएको भक्तजनको फर्मायसी पूजामा कोषले कटौती गरेको छ । मन्दिरका चारै ढोकाबाट आगमन र बहिर्गमन व्यवस्था गरिएको छ । फर्मायसी पूजाले भक्तजनलाई सहज दर्शन गर्न अवरोध भएको ठहर मन्दिर प्रशासनको छ ।
यसैगरी पाटन सुनाकोठीस्थित भृङ्गारेश्वर महादेवमा पाटनकै सिद्धरस तीर्थबाट जल ल्याई चढाउन इच्छुक सयौँ भक्तजन यहाँ सम्पर्कमा रहनुभएको छ । भृङ्गारेश्वर महादेव संरक्षण समितिका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार मन्दिर शिलापत्रमा उल्लेख भए अनुसार साउन महिनाको सोमबार सिद्धरसको जल चढाउँदा पुण्य मिल्छ भन्ने वर्णन भएकाले साउन महिनाभर यहाँ मेला लाग्छ ।
भक्तपुरको आशापुरी महादेवबाट जल ल्याई डोलेश्वरमा अर्पण गर्ने बोलबम यात्रीको ठूलो जमात तयार भइसकेको छ । यात्राका संयोजक प्रवीण सिङ्घलका अनुसार साउन १५ गते शनिबार यो यात्रा हुँदैछ ।
शनिबार बिदा परेर सबैलाई यात्रामा भाग लिन सहजता हुने भएकाले यहाँ यो यात्रा शनिबार गरिँदैछ, यो यात्रामा उपत्यकामा रहेका मारवाडी समुदायको सहभागिता रहनेछ ।
ओम् बोलबम कवाँरिया लगायतले महिनाभर महादेवको स्तुति गर्दै साउनको तेस्रो सोमबार मुख्य रूपमा र साउन महिनाभर विभिन्न शिवालयमा धार्मिक यात्रा गरिँदैछ । योपल्ट साउन महिनामा पाँच सोमबार परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु