पर्यटन प्रवद्र्धनका लागि ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिइदै

२०७३ असार ३१ गते, शुक्रबार

काठमाडौ, ३१ असार । पर्यटन प्रवद्र्धनका लागि खोटाङको दोर्पाचिउरीडाँडा गाविस–६ छहरेमा ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिने काम सुरु गरिएको छ । दायाँबायाँ र माथिदेखि तलसम्म समतल सतह रहेको विशाल ढुङ्गे भिरलाई खोपेर ‘किरात स्मृति पार्क’को नाममा कलात्मक आकृति दिने काम सुरु गरिएको हो ।
परापूर्वकालमा महादेवले टेकेको किंवदन्ती रहेको तथा किरात राईको ऐतिहासिक थलोका रुपमा रहेको चट्टानी पहरोलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न ढुङ्गा खोप्ने र कुँद्ने काम भइरहेको किरात स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश राईले बताए । “पहराको दायाँतर्फ सांस्कृतिक सामग्री र बायाँतर्फ राईको पाछाको नाम कुँद्ने काम भइरहेको छ,” अध्यक्ष राईले भने , “पहराको अगाडि ठूलो आकारमा किरात स्मृति पार्क बनाउने तयारी गरेका छौँ ।”
किरात समुदायको ऐतिहासिक ठाउँको संरक्षण गर्दै पर्यटकीयस्थलको रुपमा विकासका लागि आव २०७२÷०७३ मा गाविसको रु ५० हजार बजेटबाट पार्क निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
अवधारणा र सीप भए ढुङ्गालाई पनि आकर्षक आकृति दिन सकिन्छ । त्यही आकृतिलाई देखाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । तर, गाउँघरमा यस्तो सम्भावनाको खोजी कमै भइरहेका छन् । यही अवधारणाअनुसार छहरेमा पहरा खोपेर पार्क निर्माणको काम थालिएको स्थानीय बताउँछन् ।
दुम्ली–दोवेला सडकखण्डमा पर्ने ढुङ्गे भित्ताको बायाँतर्फ दोर्पाचिउरीडाँडामा बसोबास गर्दैआएका किरात राईको पाछाको नामावली तथा दायाँतर्फ ढोल, झ्याम्टा, धनुषवाण, तिर, चुलो, चिन्डो, बुछालु, बिनायोलगायतका किरात संस्कार÷संस्कृतिसम्बन्धी सामग्रीको आकृति कुँदिने अध्यक्ष राईले बताए । बाँसको पाँच तले खट उभ्याएर गत फागुन २१ गतेदेखि पहरा खोप्ने काम भइरहेको छ । पहरोमा चाम्लिङको १९ पाछा, वान्तवाको तीन पाछा, साम्पाङको तीन पाछा र नाछिरिङको एक पाछाको नाम खोप्ने काम भइरहेको छ । विदेशमा काम गरेर फर्किएका युवाले उभ्याएको खटमा चढेर स्थानीय भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईले ढुङ्गामा आकृति र अक्षर कुँद्ने काम गरिरहेका छन् । क्रमानुगत योजनाकारुपमा रहेको पहरे पार्कमा अक्षर र चित्र कुँदेपछि रङ्गरोगन गरेर आकर्षक स्वरुप दिइनेछ । पहराको पुछारमा रहेको सानो ओढारको ढोकामा महादेव र पारुहाङको मूर्ति राखिने जनाइएको छ । पहरालाई पार्कको रुपमा विकास गर्न थालनी भएपछि हाल हङ्कङमा बसोबास गर्दैआएका स्थानीय आर्थिक सहयोग गर्न उत्सुक रहेको अध्यक्ष राईले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु