चिनियाँ पर्यटकको संख्या बढ्दै

२०७३ श्रावण १ गते, शनिबार

काठमाडौं, १ साउन । पछिल्लो समयमा नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकलाई भिषा शुल्क मिनाहा गरेपछि उनीहरु नेपाल भ्रमणप्रति बढी इच्छुक देखिएका हुन् । चिनियाँ पर्यटकहरुले विगतमा नेपाल आउने प्रक्रियालाई ‘झण्झटिलो’ मान्दै आएका थिए । तर, गतवर्ष बैशाखमा गएको भूकम्पपछि शिथिल बनेको पर्यटनलाई केही हदसम्म माथि उकास्नका लागि सरकारले चिनियाँ नागरिकलाई भिषा फ्रि गर्ने निर्णय गर्‍यो । गत पुसमा चिनियाँ नागरिकलाई भिषा शुल्क नलिने सहमति भएसँगै यसले पर्यटन क्षेत्रमा निक्कै सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायी बताउँछन् ।
सन् २०१५ मा १ लाख २३ हजार ८ सय ५ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे पनि सन् २०१६ को शुरुको ६ महिनासम्म करिब ६० हजार चिनियाँले नेपाल भ्रमण गरिसकेका छन् । सरकारले सन् २०१६ मा नेपालमा साढे २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न योजना अघि सारेर उनीहरुलाई नेपाल घुम्न प्रेरित गरिरहेको छ । यस्ता कार्यक्रममले यो वर्ष नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढ्ने सकारात्मक संकेतहरु देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु