शिवालय भत्कियो

२०७३ श्रावण २१ गते, शुक्रबार

काठमाडौँ, २१ साउन । थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय हिजो साँझ अकस्मात भत्किएको छ । भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा गर्दै आएका महन्त नारायणनाथ योगीले बताए । यद्यपि मन्दिर भत्कँदा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरीवृत्त सिंहदरबारमा कार्यरत प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।
उक्त मन्दिर भएको स्थानमा अन्य दुई शिवालय पनि रहेका छन् । मन्दिर भत्कँदा अन्य शिवालय र सँगै रहेको गुठी संस्थानको भवनलाई पनि सामान्य क्षति पु-याएको छ । एकिन क्षति कति भयो भन्ने जानकारी प्राप्त नभइसकेको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।
उक्त मन्दिरको गुठीमा थुप्रै जग्गा भएको र ती जग्गामा गुठी संस्थानले व्यावसायिक भवन बनाएर आम्दानी गर्दै आए पनि मठमन्दिरको संरक्षणमा समयमा नै ध्यान नदिएको स्थानीयबासीको आरोप छ । राणाकालीन उक्त मन्दिर वि.सं. १९३१ मा जिर्णोद्धार भएको अभिलेख देखिन्छ । मन्दिरको रेखदेखमा करिब आधा दर्जन साधुसन्त त्यहाँ बसोबास गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु