राधाकृष्ण रथयात्राको तयारी हुदै
काठमाडौं,२ भदौ । विगत ८५ वर्षदेखि निरन्तररुपमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वका अवसरमा विराटनगर–१ पानीट्याङ्कीबाट सञ्चालित राधाकृष्ण रथयात्राको तयारी तीव्रगतिमा भइरहेको छ । सो रथयात्रा समारोहलाई व्यवस्थित बनाउनका लागि १९ वटा उपसमिति पनि गठन गरिएको सो समारोह समितिद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइयो ।
सो अवसरमा समारोहका अध्यक्ष बावुराजा ओझाले भदौ १० गते दिउँसो ३ बजेदेखि सुरु हुने रथयात्राका क्रममा शान्तिसुरक्षा कायम गर्नका लागि एक हजार सुरक्षाकर्मी परिचालन हुने, आठ किलोमिटरको दूरीको सो यात्राको अवधिमा सडक लोक सांस्कृतिक नृत्य प्रदर्शन, प्रसाद वितरण, धार्मिक भजनका साथै रथमाथि हेलिकप्टरबाट पुष्पवर्षा गर्ने कार्यक्रम रहेको बताए ।
बाइस फिट लम्बाइ, १३ फिट चौडाइ र १८ फिट उचाइको सो राधाकृष्ण रथका लागि विद्युतीय तारको सञ्जाललाई व्यवस्थित गर्ने कार्यका साथै जीर्ण अवस्थामा रहेका सडकको मर्मत र सरसफाइका लागि पहलसमेत सुरु भइसकेको उनले बताए । साथै, १५ परिवारलाई रथयात्रामा सरिक भएर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको छ । प्रत्येक परिवारलाई मन्दिरको दानपेटिकामा रु ११ हजार दान गर्नुपर्ने निर्णय भएको छ । यस पर्वको अवसरमा २०६४ सालदेखि चम्पालाल राठीका पाँच दाजुभाइद्वारा स्थापित रु ८१ हजारको पोकरमल राठी धर्मसंस्कृति पुरस्कार यसपल्ट इस्कोन नेपाल प्रचार–प्रसारका संयोजक, लहानको गोढमन्दिरका अध्यक्ष केशवगोपाल दास ब्रह्मचारीलाई प्रदान गरिने निर्णय पनि भएको छ ।