आज गाईजात्रा

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौं, ३ भदौ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व । आज काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईंदै छ । गाइजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ ।
यो जात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा मनाउन थालेको विश्वास छ ।
काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो बस्ती रहेका शहर बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा यो पर्व मनाइन्छ ।
उता, भक्तपुरमा निकालिने गाइजात्राको भने छुट्टै रौनक र आकर्षण रहेको छ । त्यहाँ आजदेखि आठ दिनसम्म यो पर्व चल्दछ । भक्तपुरमा गाइजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिको ताहामच्चा अर्थात चारवटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने चलन छ । त्यहाँ हुने घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच गाईजात्राको अर्को विशेषता हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु