सुनले लेखेको बौद्धग्रन्थ प्रदर्शनीमा
काठमाडौं, ३ भदौ । हिजोदेखि बौद्ध धर्मावलम्बीहरूले ९ प्रकारको गुँलाबाजा बजाउँदै विभिन्न बाहाल, बही र विहार परिक्रमा सुरु गरेका छन् । यो परिक्रमामा बाहाल, बही र विहारमा राखिएका सदियौं पुराना दीपंकर बुद्ध, बुद्ध, बोद्धिसत्व, लोकेश्वर र तारा आदिका मूर्तिहरू गुँलाबाजा बजाउँदै हेर्न जाने गरिन्छ । साथै सदियौं पुराना पौवा, हस्तलिखित ग्रन्थहरूसमेत प्रर्दशन गरिन्छ । परिक्रममाकै अवसर पारेर काठमाडौंको ताहाचलको खुसिबहीमा ऐतिहासिक र पुरातात्विक महत्वको वीरकुश महाराजको कान नभएको मुखौटा र तिब्बती लिपिमा सुनले लेखेको बौद्धग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता प्रदर्शन गरिएको छ । साथै, प्रदर्शनीमा ऐतिहासिक र दुर्लभ सिद्ध नारोपाले बोक्ने महाशंखसमेत राखिएको छ । यो प्रदर्शनी शनिबारसम्म हुनेछ ।