चाँगुनारायण मन्दिर उच्च जोखिममा
काठमाडौ, ४ भदौ । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर पहिराका कारण उच्च जोखिममा छ । मन्दिरको पूर्व र पश्चिम दिशाबाट पहिरो गएको छ । पहिराले भत्किँदै गएका मन्दिरका सिँढी केही बनाइए पनि दीर्घकालीन रुपमा पहिरोको रोकथाम हुन नसकेकामा स्थानीयवासी चिन्तित छन् ।
मन्दिरको पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्रसूर्यको मठसम्म पहिरो आइपुगेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए । अनिवार्य पूजा गर्नुपर्ने उक्त मठ नजिकै पहिरो आएको बताउँदै उनले मन्दिर उच्च जोखिममा पर्दा पनि यसलाई जोगाउन सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे ।
लामो समयदेखि मनोहरा खोलामा भइरहेको बालुवा चोरी निकासी रोक्न नसकिएको, मन्दिर रहेको ठूलो थुम्काको तल आडका रुपमा रहेका ससाना ढिस्का, पहाडलाई खोस्रेर बालुवा खानी सञ्चालन र जग्गा चक्लाबन्दी गरेर बिक्री गर्न थालेपछि मन्दिर थप जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
छ वर्षदेखि सो क्षेत्रमा पहिरो जान थालेको बताउँदै स्थानीयवासीले पहिरो रोकथाम गर्न र जथाभाबी बालुवा झिक्न रोक्न नसकिएका कारण मन्दिर थप जोखिममा परेको बताएका छन् ।
यस्तै अवस्था रहे अब केही वर्षमै मन्दिर नै पहिराले पुर्ने बताउँदै जनताले जिविस भक्तपुर, पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालयले सोको रोकथामका लागि आवश्यक पहल गर्न नसकेको गुनासो गरेका छन् ।
विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले चाँगुनारायण मन्दिरसँगैको पहिरो रोेकथामका लागि कार्यालयसँग बजेट नभएकाले केही गर्न नसक्ने जनाएका छन् ।- रासस