इन्द्रजात्राको लिङ्गोको भोटाहिटीमा

२०७३ भाद्र २२ गते, बुधबार

काठमाडौँ , २२ भदौ । इन्द्रजात्राका लागि इन्द्रध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) को भोटाहिटीमा आज सर्वसाधारणले पूजा तथा दर्शन गरेका छन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल चौथीका दिन भक्तपुरको चित्तपोल जङ्गलबाट सो लिङ्गो ल्याई भोटाहिटीमा राख्ने चलन छ । विशेषगरी भोटाहिटी तथा त्यसआसपास क्षेत्रका स्थानीयवासीले पञ्चमीका दिनदेखि त्यहाँ पूजा गर्ने चलन छ । सडकको किनारमा राखिएको उक्त लिङ्गोलाई बाटोमा हिँड्ने बटुवाले समेत दर्शन गर्दा त्यहाँ दर्शनार्थीको भीड लागेको छ । यही भदौ २५ गतेसम्म उक्त लिङ्गोलाई त्यहाँ राखिने गरिन्छ ।
त्यहाँबाट विधि विधानपूर्वक पूजा गरी त्यसलाई सोही दिन साँझ हनुमानढोकामा पु¥याइने छ । यही भदौ २८ गते शुभसाइत हेराएर लिङ्गो उठाई इन्द्रध्वजा फहराइने कार्यक्रम रहेको मानन्धर सङ्घका प्रतिनिधि मोहनकृष्ण मानन्धरले बताए । भक्तपुरको चित्तपोल जङ्गलबाट सो लिङ्गो हनुमानढोकासम्म पु-याउने जिम्मेवारी केन्द्रीय मानन्धर सङ्घले लिएको छ ।
यसैबीच, स्थानीय जैशीदेवल नजिक मजिपाटस्थित लाखेघरमा लाखेको मुखुण्डो, गरगहना तथा कपडाको मर्मत कार्य भइरहेको छ । काठमाडौँ उपत्यकामा इन्द्रजात्रा ठूलो पर्वका रुपमा मानिन्छ । करिब एक सातासम्म सञ्चालन हुने सो जात्रामा त्यस क्षेत्रको सहर वरपरका विभिन्न स्थानमा विभिन्न किसिमका लाखे नाच गरिन्छ ।
यस वर्ष सो जात्रा यही भदौ ३० गते परेको छ । गरगहनामा रङ्गरोगन गरी आकर्षक बनाइएको छ भने लाखेले प्रयोग गर्ने जामालाई समेत आवश्यक मर्मत गरिएको छ । लाखेको मुखुन्डोको भने काम बाँकी नै रहेको लाखेघरका संरक्षक राजीव रञ्जितले बताए । इन्द्रजात्राको करिब एक साताको समयावधिभित्र यी सामग्रीको प्रयोग गरी लाखे नाच आयोजना गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु