गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौ, ४ असोज । वन तथा भूसंरक्षण मन्त्रालय, वनस्पति विभागले नेपाल–बेलायत कूटनीतिक सम्बन्ध दुई सय वर्ष पुगेका अवसरमा ललितपुरको गोदावरीमा ‘जैविक विविधता शैक्षिक उद्यान’ स्थापना गरेको छ । उक्त उद्यानको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ ।
गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानभित्र स्थापित सो उद्यानको तयारीका बारेमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले अवलोकन तथा निरीक्षण गर्नाका साथै सम्बन्धित कर्मचारीलाई आवश्यक सुझाव, सल्लाह र निर्देशन दिएका छन ।
बेलायतको प्राविधिक सहयोगमा निर्मित सो उद्यान हिमाल, पहाड र तराई तीनै क्षेत्रमा पाइने ८८ प्रजातिका विविध वनस्पति वृक्षरोपण गरी तयार पारिएको वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादवले बताए । सानो क्षेत्रफलमा विविध वनस्पति रहेको सो उद्यान १.३ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने उद्यानभित्र २५ प्रजातिका विशेष वनस्पतिमा विस्तृत जानकारीका लागि सूचनापाटी राखिएको छ ।
सो उद्यान वनस्पति विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि ज्यादै उपयोगी हुने र यसले गोदावरी क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु