पुरातात्विक महत्वको माल अड्डा पुनःनिर्माण गरिने
काठमाण्डौ ,५ असोज । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको करिब २०० वर्ष पुरानो पुरातात्विक भवन ‘माल अड्डा’ पुनःनिर्माण गरिने भएको छ ।
पोखराको पहिलो सरकारी भवनका रुपमा परिचित पोखरा उपमहानगरपालिका–२ स्थित बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको उक्त भवन २०७० साल कात्तिकमा आगलागी भई ध्वस्त बनेपछि पुरातत्व विभागले भवन पुनःनिर्माण प्रक्रिया अघि बढाएको हो ।
पोखराको एतिहासिक महत्व रहेको माल अड्डाका नामले परिचित उक्त भवन जीर्ण बने पछि बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सक्रियतामा जीर्णोरद्वारको पहल भइरहेको अवस्थामा अकस्मात् आगलागी भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागी हुनुपूर्व नै भवन जीर्णोरद्वारको प्रक्रिया अघि बढी अर्थ मन्त्रालयबाट लगभग रु ६० लाख निकासी हुने अवस्थामा थियो ।
आगलागी पछि यस भवनलाई पुरातत्व विभागबाट नै पूर्ववत् स्वरुपमा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
राणाकालीन समयमा यस माल अड्डाबाट तहसिल कार्यालयका रुपमा स्याङ्जा, लमजुङ, तनहँु र आसपासका क्षेत्रमा रकम निकासा हुने गरेको थियो । तहसिल कार्यालयले गर्दै आएको काम पछिल्लो समयमा मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुँदै आएको थियो ।
इँटा र सुर्कीले बनेको तथा टायलले छाएको उक्त भवनमा आगलागी पूर्व पोखरेली युवा सांस्कृतिक परिवारको कार्यालय तथा सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गरिँदै आइएको र मन्दिरको सुरक्षार्थ सुरक्षाकर्मी पनि बस्ने गरेको बिन्दवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन परिसरमा रहेको लगभग २५० वर्ष पुरानो नारेश्वरको बोट समेतलाई संरक्षण गर्दै त्यसको अगाडि फराकिलो आँगन बनाउने सोच राखिएको छ ।
अठ्ठाइस इन्चको पर्खालसहित पक्की भवनका रुपमा रहेको अड्डामा पहिलाको धनसम्पत्ति राख्ने अँध्यारो कोठा रहेको स्मरण गर्दै सचिव तीर्थ श्रेष्ठले आफूहरूले बाल्यकालमा धनसम्पत्ति राख्ने मदुस पनि देखेको बताउनुभयो ।
“धन सम्पत्तिकी देवी माता लक्ष्मीकै नामबाट माताको मा र लक्ष्मीको ल मिलाएर माल अड्डाको नामाकरण भएको हुनसक्छ” – उहाँले भन्नुभयो ।
पुरातात्विक सम्पदालाई पुरानै स्वरुपमा निर्माण गर्ने नीतिअनुरुप पुरातत्व विभागले काम अघि बढाएको विभागअन्तर्गतको पोखरा क्षेत्रीय सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
माल अड्डा पुनःनिर्माणका लागि अघिल्लो आवमा रु ६० लाख विनियोजन भई काम अघि बढेकोमा यस आवमा रु ६६ लाख विनियोजन भएको जानकारी दिँदै उहाँले यस आवमा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको बताउनुभयो । – वासुदेव पौडेल/रासस