नवरात्रपर्व र तलेजु मेला

२०७३ आश्विन १९ गते, बुधबार

हिन्दुहरूको महान् चाड विजयादशमी अर्थात् बडादसैँ नारीशक्तिको पुजन हुने महान् पर्वका रूपमा लिइन्छ । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई मनाउने गरिन्छ । भगवान् रामले रावणलाई यसै दिन विजय प्राप्त गर्नुभएकोले नै यो पर्वलाई विजयादशमी भनिएको हो । त्यस्तै, देवीभागवतमा उल्लेख भएअनुसार दुर्गामाताले शुम्भ निशुम्भलगायतका असुरमाथि विजय प्राप्त गरेका कारण यो पर्व शक्ति उपासनाका रूपमा मनाउँदै आइएको हो ।
दसैँ शब्दको उत्पत्ति सम्बन्धमा फरक–फरक मत पाइए पनि प्रतिपदादेखि दशमीसम्म मनाइने भएकोले यस पर्वलाई दसैँ भनिएको हो । शक्तिमाता जगदम्बाले असुरहरूको नाश गरी जगत्को कल्याण गर्न सत्य, न्याय र धर्म रक्षाका लागि शक्ति प्रदर्शन गरी आफ्नो सत्व, तम र रज त्रिगुणद्वारा संसारको सृष्टि गरेकोले दसैँमा उनै जगदम्बाको विशेष आराधानासहित पूजाअर्चना गरिन्छ ।
विजयादशमीको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ । यस अवसरमा विभिन्न देवी देवताको मठमन्दिरमा पूजाअर्चना गर्न भक्तजनको घँुइचो लाग्छ । यस अवधिमा पूजाअर्चना गरिने देवीलाई नवदुर्गा भनिन्छ । नवरात्रमा पुजिने नवदुर्गाका आआफ्नै विशेषता छन् । यस अवधिमा दुर्गाका विविध स्वरूपको पूजा गर्छन् । ती हुन् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनि कालरात्री, महागौरी र सिद्धिदात्री । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरी जम्मा नौ दिन भगवती दुर्गाका स्वरूपको आराधाना गर्दै यो नवरात्र पर्व मनाइन्छ । यस अवसरमा देवी दक्षिणकाली, भद्रकाली, नरदेवी, शोभाभगवती, गुह्येश्वरी, पलाञ्चोक भगवती, छिन्नमस्ता, सखडामाई, गढीमाई, मनकामना, भैरवीलगायतका थुप्रै शक्तिपीठमा पूजाअर्चना गर्ने मानिसको बाक्लै उपस्थिति देखिन्छ ।
यस्तै यस पर्वका अवसरमा विभिन्न शक्तिपीठमा वर्षको एक दिनमात्र मेला पनि लाग्ने गर्छ । त्यसरी वर्षमा एक दिनमात्र मेला लाग्ने मन्दिरमध्येको एक हो तलेजु भवानी मन्दिर । जुन मन्दिर विश्व सम्पदा सूचीमा समावेश भएको काठमाडौँ हनुमानढोका दरबार क्षेत्रमा अवस्थित छ । यसलाई अति आकर्षक र प्राचीन मन्दिरमध्ये एक मानिन्छ । तुुलजा भवानीको मन्दिर वर्षको एक दिन अर्थात् दसैँको नवमीको दिनमात्र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि खुला गरिन्छ । नवमीका दिन यहाँ तुलजा भवानीको पूजाअर्चना र दर्शन गर्न टाढाटाढाबाट थुप्रै मानिस आउने गर्छन् ।
तुलजा भवानीलाई मातृशक्तिका रूपमा परम्परादेखि पुजिँदै आएको पाइन्छ । यहाँ तुलजा भवानीको पुजन परम्परा मल्लकालदेखि भएको इतिहासमा पाइन्छ । प्रायः नेवारी सम्प्रदायले तुलजा भवानीलाई इष्टदेवीका रूपमा पुज्ने गर्छन् । तुलजालाई तलेजु, तलेजी, तुर्जा आदि नामले पुज्ने गरिन्छ । तुलजा भवानीको पुजन परम्परा स्वदेशमामात्र नभएर विदेशमा समेत रहेको छ । काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखु, फर्पिङ, चापागाउँ, ठिमीबाहेक नाला, बनेपा, पनौती, दोलखा आदि सहरमा तुलजा भवानीको मन्दिर रहेको छ । त्यसको अलवा भारतको हैदराबादको तुलजापुरमा र तिब्बतको भाखौरमा पनि तुलजा भवानीको मन्दिर रहेको छ ।
नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने राजा कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए । त्यतिबेला अर्थात् सन् १३२५ मा भारतीय मुसलमान शासक गयासुद्दीनले सिम्रौनगढमाथि आक्रमण गर्दा हरिहरसिंह तुलजा भवानीलाई लिएर भक्तपुर आइपुगेका थिए । भक्तपुरमा तुलजा भवानीको प्रतिष्ठापन भएपछि त्यो क्रमशः काठमाडौँ र ललितपुरमा पनि परम्पराका रूपमा विस्तार भयो । काठमाडौँमा तुलजा भवानीको मन्दिर स्थापना गर्ने राजा रत्न मल्ल हुन् । प्रारम्भमा मल्ल राजाले तुलजा भवानीलाई कुलदेवीका रूपमा पुज्ने गरिएको पाइन्छ । नेपाल एकीकरणपश्चात् शाहवंशका राजाहरूले पनि तुलजा भवानीलाई इष्टदेवीका रूपमा पुज्ने गरे ।
काठमाडौँको तलेजु मन्दिरमा पर्व विशेष, दैनिक र वार्षिक गरी तीन प्रकारले परम्परागत पूजा गरिन्छ । यी सबै पूजा गुठी संस्थानबाट नै सञ्चालित हुन्छन् । बडादसैँको अष्टमी र नवमीका दिन तुलजा भवानीको भव्य रूपमा पूजा गरिन्छ । यस अवसरमा तलेजु भवानीलाई बलि चढाएर कालरात्रि पूजा गरिन्छ । अनि सर्वसाधारण भक्तजनलाई पूजा अर्चनाका लागि नवमीका दिन एक दिनमात्र सार्वजनिक रुपमा खुला गरिन्छ । – सरस्वती ढुङ्गाना, गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु