पाथीभरामा दर्शनार्थीको भिड
काठमाडौ, १३ कात्तिक । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको चाप बढेको छ । दशैं र दोस्रो ठूलो चाड तिहारको समयमा दर्शनार्थीको चाप बढेको हो । विशेषगरी दशैंको नवरात्र यतादेखि पाथीभरामा दर्शनार्थीको चाप बढेको पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले जनाएको छ । पाथीभरा देवीको दर्शन गर्नका लागि मुख्य सिजन दशैं तिहारको महिना असोज र कात्तिक साथै चैते दशैं (रामनवमी) को सिजन चैत र बैशाख महिनालाई मानिन्छ । सोहीअनुसार अहिले हिन्दूहरुको महान् चाडपर्व दशैं तिहारसँगै सिजन सुरु भएकाले तीर्थयात्रीहरुको आगमन बढेको हो । पाथीभरा देवीको दर्शन गर्न हिजोआज राजधानी काठमाडौं लगायत ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतबाट दर्शनार्थीहरु आइरहेका छन् ।
नेपाल बाहिर भने भारतको सिक्किम, दार्जिलिङ, कलकत्ता लगायतका ठाउँबाट दर्शनार्थीहरू आउने गरेका छन् । पाथीभरा क्षेत्रको फेदीबजार अस्थायी प्रहरीचौकीका अनुसार दशैंको नवरात्र शुरु भएयता बिहीबारसम्ममा २७ हजार एक सय २७ जनाले पाथीभरा देवीको दर्शन गरेका छन् । सबैभन्दा बढी गएको हप्ताको शुक्रबार र शनिबार दुई दिनमा आठ हजार तीन सय ३० जना तीर्थयात्रीले देवीको दर्शन गरेका प्रहरीचौकीमा कार्यरत ज्ञानु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि तीर्थयात्रीको चाप उत्तिकै रहेको छ ।
यता पाथीभरामा दर्शनार्थीको आगमन बढेसँगै मन्दिर नजिकको फेदीबजार, तल्लोफेदी, काफ्लेपाटी, भालुगौंडे, सेवारो चोक, देउराली लगायत बजारका होटलहरु दर्शनार्थीले खचाखच भएका छन् । यस्तै सदरमुकाम फुङ्लिङ र सुकेटार बजारका होटलहरु पनि उत्तिकै खचाखच भएको व्यवसायीले बताएका छन् । बजारमा दर्शनार्थीहरुको चहलपहल पनि बाक्लो बनेको छ ।
यो वर्ष हिजोआज दर्शनार्थीको चाप भए पनि विगत वर्षहरुका तुलनामा भने आधाभन्दा बढी दर्शनार्थीहरूको उपस्थिति घटेको पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारी नवीन निरौलाले बताउनुभयो । निरौलाका अनुसार दशैंको अवधिमा भने डेढ÷दुई सय देखि पाँच सयको हाराहारीमा मात्रै दर्शनार्थी आएका थिए । तर दशैं पछिदेखि दर्शनार्थीको आगमन बढेको निरौलाको भनाइ छ ।- चन्द्र पन्दाक,गोरखापत्र