एकैघरमा तीन हजार ६०० पर्यटक !
काठमाडौं, २४ कात्तिक । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गाह्रो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक तीनहजार ६ सयजना आएर पर्यटक बास बसेका छन् । पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा हुने गरेको छ । नेपालमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात छ । सूर्योदय हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका हुन् ।
अन्तुडाँडा क्षेत्रमा सञ्चालन भएका २० वटा होमस्टेमध्ये आधाभन्दा बढीमा नियमित पर्यटकको आगमन हुने गरेको छ । अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष समेत रहेका धनकुमार आलेले यहाँ सञ्चालित होमस्टेमा यो याममा दिनहुँ ३० देखि ५० जनाको हाराहारीमा पर्यटक आएर बस्ने गरेको बताए । उनले भने, ‘अहिले सूर्योदयको सिजन हो । अन्तु क्षेत्रमा यो बेला दैनिक दुईसयभन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । कहिलेकाहीँ त पाँचसय भन्दा बढी नै हुन्छन् ।’ आगमनको यो सङ्ख्या गएको दशैँ पछि हो ।
दशैँ बितेलगत्तै दिन खुलेका र घाम लागेका कारण सूर्योदयको दृश्य पनि राम्रो देखिने भई पर्यटकको आगमनमा पनि बृद्धि भएको हो । आलेले अगाडि भने, ‘सूर्योदयको सिजन नै यही हो । ठ्याक्कै घाम लाग्ने र दिन उघ्रिन थालेपछि पर्यटक आगमन पनि एकैचोटि वृद्धि भयो ।’ आलेका अनुसार उनकै होमस्टेमा वर्षभरिमा तीनहजार ६ सय पर्यटक आएर बास बसेका छन् । उनका अतिरिक्त अन्य एउटा दुईवटा होमस्टेमा मात्र यो सङ्ख्यामा पर्यटक आएर बसेका छन् । उनले भने, ‘मेरो घरदेखि डाँडा नजिक भएर, ब्यवस्थित भएर अनि मलाई चिन्ने धेरै भएर पनि मेरोमा बढी भएको हुनसक्छ ।’ उनले आफ्नो होमस्टेमा सरदर प्रति पर्यटकबाट पाँचसय रुपैयाँ खर्च भएको हिसाब गर्दा पनि वर्षमा १८ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको बताए । उनले भने, ‘एउटा पर्यटकबाट कम्तीमा पाँचसय खर्च हुन्छ यहाँ । त्यही हिसाबले भन्ने हो भने वर्षमा मेरो होमस्टेमा मात्र १८ लाख रुपैयाँ भित्रिन्छ ।’ केन्द्रका अनुसार अन्तुडाँडा परिसरमा वार्षिक ४० हजार भन्दा बढी पर्यटक भित्रिन्छन् । पहिले ४० वटाको हाराहारीमा होमस्टे दर्ता गरेर सञ्चालन गरिएको भएपनि कतिपय डाँडाभन्दा टाढा रहेको तथा महोत्सवमा बाहेक अन्य अवस्थामा तलसम्मका होमस्टे सञ्चालन गर्न कठिनाइ हुने भएकाले डाँडाबाट नजिकमा भएका २० वटा मात्र अहिले सञ्चालनमा छन् । – रासस