तातोपानी कुण्डलाई पर्यटकीयस्थल बनाउन माग
काठमाडौँ, १४ माघ । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको तातोपानी कुण्डलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् । विश्वभरका पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बन्न सक्ने सम्भावना बोकेको तातोपानी कुण्ड आसपासमा भौतिक पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न स्थानीयले सरकारसँग माग गरेका हुन् । अस्पतालमा लाखौं खर्चिएरसमेत निको नहुने रोग तातोपानी कुण्डमा नुहाएमा निको हुने गरेकाले यो कुण्ड आकर्षक बन्दै गएको छ । तर कुण्डआसपासमा पूर्वाधार निर्माण नहुँदा यहाँ पुग्नेहरुले सास्ती भोग्नु परिरहेको छ । वीरे नून र गन्धक तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियसको तातोपानी निस्कने मुहान रहेको सो कुण्डमा नियमित स्नान गरेर ग्यास्ट्रिक, बाथरोग, युरिक एसिड, ढाड दुख्ने, छालासम्बन्धीलगायतका रोग निको हुने स्थानीय बासिन्दा बताउँछन् ।