सगरमाथा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ । त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधार शिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन् । पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपीसीसीले मानिसको मलमूत्र संकलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर, त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् । आधार शिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाईलगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन् ।
सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार ९ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र संकलन गरेको एसपीसीसीको कार्यालय नाम्चेले जनाएको छ । योभन्दाअघिदेखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौंसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिनेलगायतका समस्या अहिले देखिएका छन् । यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु