पञ्चकन्या पोखरी ओझेलमा
काठमाडौं, २९ फागुन । ऐतिहासिक पञ्चकन्या पोखरी ओझेलमा परेको छ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको सो पोखरी सरकारी निकायको वेवास्ताका कारण ओझेलमा परेको हो । महादेवस्थान गाविसको घाटा गाउँस्थित घना जंगलको बीचमा रहेको पञ्चकन्या पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ । सदरमुकाम सिन्धुलीमाडीबाट करिव १५ किलोमिटर दूरीमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी हजारौं वर्ष अगावैदेखिको निर्मल जलकुण्ड मानिन्छ ।
हजारौं वर्षदेखि एकै खाले जल सतह रहेको र घना जंगल, जंगली जनावर र पंक्षीहरुको दृश्यले पञ्चकन्या पोखरीको आकर्षण बढाएको देखिन्छ ।किम्बदन्तीअनुसार पञ्चकन्या पोखरीमा पाँच वटी देवकन्याको बासस्थान रहेको मानिन्छ । पञ्चकन्या पोखरीको डिलमा रहेको पञ्चकन्या देवीलाई शुद्ध भै पूजा अर्चना गरी भाकल गरे मागेको वर पाईने जनविश्वास रही आएको छ । पोखरीनजिकै रहेको पुरानो पञ्चकन्यादेवीको मन्दिरसमेत जीर्ण भएको छ भने जलदेवीको स्थान व्यवस्थित गर्न सकिएको छैन ।