वन्यजन्तुका लागि कृत्रिम ताल

२०७३ फाल्गुन ३० गते, सोमबार

काठमाडौँ, ३० फागुन  । वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालयले संरक्षित क्षेत्रभित्र तालको पुनर्निर्माण र कृत्रिम ताल निर्माण गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार, चालू आर्थिक वर्षमा निकुञ्जभित्र वन्यजन्तुका विशेष बासस्थान क्षेत्र मानिएका ठाउँ पहिचान गरी आठवटा ताल पुनर्निर्माण र कृत्रिम ताल निर्माण गरिएका छन् ।
उनले भने , दुर्लभ वन्यजन्तुका लागि चाहिने पानीको व्यवस्थापन गर्न निकुञ्ज प्रशासनले यस वर्ष पुरिएका तालको पुनर्निर्माण र केही कृत्रिम ताल निर्माण गरेको छ । यसले गर्दा वन्यजन्तुका लागि चाहिने पानीको व्यवस्थापन निकुञ्जभित्र हुने विश्वास लिएका छौँ । विशेषगरी तराईका संरक्षित क्षेत्रभित्र पानीका स्रोत सुकेर वन्यजन्तुको संरक्षणमा चुनौती थपिएपछि वन तथा भू–संरक्षण मन्त्रालयले संरक्षित क्षेत्रभित्र पानीको व्यवस्थापन गर्न पुरिएका तालको पुनर्निर्माण र नयाँ कृत्रिम ताल, पोखरी निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख थापाका अनुसार विभिन्न कारणले पुरिएका, सुकेका ताल पहिचान गरेर ती क्षेत्रमा पुनः पानीका स्रोत बढाउने गरी पुनर्निर्माण गर्ने कामलाई पनि निरन्तरता दिइएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा पनि यस वर्ष पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने कार्यक्रम रहेको छ । निकुञ्ज प्रमुख दिल पुनले भने , पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर पर्ने चुरेसम्म निकुञ्ज क्षेत्र फैलिएको छ । पानीका सबै स्रोत राजमार्गभन्दा दक्षिण भागमा छन् । पानीकै लागि वन्यजन्तु दक्षिण क्षेत्रमा आवतजावत गर्दा राजमार्गमा दुर्घटना हुने सम्भावनालाई न्यून गर्न र उत्तरी क्षेत्रलाई वन्यजन्तुको उपयुक्त बासस्थान बनाउन कृत्रिम ताल तथा पोखरी निर्माण गरिरहेका छौँ ।
चितवन राष्ट्रिय निकुञ्जमा पनि यस वर्ष केही कृत्रिम ताल निर्माण गरिने जानकारी निकुञ्ज प्रमुख रामचन्द्र कँडेलले दिए । उनले भने , वन्यजन्तुको बासस्थान वरपर पानीको भरपर्दा स्रोत बनाउन ताल निर्माण गरिरहेका छौँ । यसले वन्यजन्तु संरक्षणमा महìवपूर्ण भूमिका निर्वाह गर्नेछ । बर्दियाको चुरे क्षेत्रमा रहेका पुराना पुरिएका तालको माटो खनेर तालको आकार निर्माण गरी सौर्य ऊर्जाको सहयोगमा मोटरबाट पानी निकाल्ने काम भइरहेको छ । बर्दियाको बबई उपत्यका, राजमार्ग उत्तर र चुरेको दक्षिणी भेगमा विगतमा ताल रहेका तर विभिन्न कारणले सुकेका क्षेत्रमा पुनः ताल निर्माण गर्ने काम भइरहेको छ ।
निकुञ्ज प्रमुख थापाका अनुसार, ताल सुक्दा वन्यजन्तुका लागि चाहिने पानीको मात्र अभाव नभई सिमसार क्षेत्रवरिपरिका समग्र जैविक विविधता नाश हुने भएकाले तालको पुनर्निर्माणले जलपक्षी, पुतली, माछा तथा अन्य चराचरको संरक्षण हुने भएकाले यसलाई अभियानकै रूपमा लिइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु