केदारनाथको शिरोभाग पशुपति

२०७३ चैत्र १ गते, मंगलवार

काठमाडौं, १ चैत । केदारनाथको शिरोभाग पशुपति भएको दाबी विज्ञहरूले गरेका छन । पशुपति क्षेत्रको भूउपयोगसहित गुरुयोजना बनाउने क्रममा आयोजित बृहत् कार्यशाला गोष्ठीमा विज्ञहरूले सो दाबि गरेका हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव एवं इतिहासविद् डा. गोविन्द टण्डनले हिमवत् खण्ड र शिवपुराणमा पशुपतिनाथलाई केदारनाथको शिरोभाग भनी वर्णन गरिएको दृष्टान्त प्रस्तुत गर्दै डोलेश्वरका विषयमा भइरहेको प्रचारबारे गोष्ठीको ध्यानाकर्षण गराएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै इतिहासकार ज्ञानमणि नेपालले द्वादश ज्योतिर्लिङ्गको शिर मानेर पशुपतिनाथको दर्शन गर्नैपर्ने र पशुपतिको शिरोभाग केदारनाथ हो भन्ने पुराणमा वर्णन रहेको बताए । उनले कुशाणकालीन राजाहरूले पशुपतिबाहेक अरूलाई जम्ला हात जोडेर ढोग्दैनथे भन्ने लेखिएको र हर्षवद्र्धनका बाबु पुष्पभूतिले पशुपतिको पूजा नगरी भोजन गर्दैनथे भन्ने पशुपतिनाथको महिमाको वर्णन गरे ।
यसैगरी डा. रुद्रप्रसाद मिश्रले यजुर्वेदको अध्याय प्रस्तुत गर्दै भगवान् पशुपति अनादि, ज्ञानैकगम्य र ब्रह्मतत्व हुनुहुन्छ भने । भगवान् शिवको मन्त्रमय पाँच विग्रह सद्योजात, वामदेव, अघोर, तत्पुरुष तथा ईशान नामले प्रसिद्ध रहेको र यी मन्त्रमय विग्रहको चर्चा कृष्ण यजुर्वेदीय तैत्तिरीय शाखाको आरण्यकमा उल्लेख भएको बताए ।
तीन दिनसम्म चलेको कार्यशाला गोष्ठी सोमवार समापन भएको छ । २६४ हेक्टर जमिनमा फैलिएको पशुपति क्षेत्रलाई समस्त हिन्दूको गन्तव्यधाम र पर्यटकका लागि रमणीय स्थल बनाउन त्यहाँका पुरातात्विक मूर्त अमूर्त सम्पदालाई के कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा इतिहास, धर्म संस्कृति, पुरातत्व, वास्तुविद् तथा विश्व सम्पदा क्षेत्रमा कार्यरत विज्ञले आ–आफ्ना राय प्रस्तुत गरेका थिए । कार्यशाला गोष्ठी समापनलगत्तै देश विदेशमा बसोबास गर्ने सबैसँग कोषले विद्युतीय सूचना माध्यमबाट पनि सुझाव सङ्कलन गर्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु