आज अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवस
काठमाडौं, १४ साउन । आज सातौं अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य निर्धारण गरेको थियो । विश्वमा अहिले झन्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।
नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको छ । संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो । चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो ।
नेपालमा हरेक चार वर्षमा बाघ गणना यो वर्ष गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्यअनुसार संरक्षणको काम भइरहेको सरकारले जनाएको छ । विश्वका १३ वटा देशमा बाघ संरक्षणका काम भइरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश र चीनमा बाघ पाइन्छ ।