राइनासकोटमा प्याराग्लाइडिङ
काठमाडौं, ३१ असोज । लमजुङको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण सुरु गरिएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छ मध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दरबजार र गोरखाको लिगलिग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।
राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताए । मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ । पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् । सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गरेको थियो । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली नागरिक थिए ।