लाटोकोसेरो महोत्सव माघ १८ देखि

२०७५ पुष २१ गते, शनिबार

काठमाडौं, २१ पुस । खोटाङमा प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर माघ १८ र १९ गते दिक्तेल रुपाकोट जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक विकास राईले बताएका छन । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरोसम्बन्धी जानकारी दिने सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयको लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । ‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने महोत्सवमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य, स्थानीय तामाङ समुदायको डम्फु र सेलो, शेर्पाको सेब्रु, किरात राईको साकेला र मारुनी, हिन्दू महिलाको सङ्गिनी नाच, गुरुङ जातिको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा तथा बिनायो, पीपीरी, यलम्बर, मादल, बाँसुरीलगायतका स्थानीय बाजा प्रदर्शनी गरिने बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु