पर्यटकीय द्वारको शिलान्यास

२०७५ माघ १० गते, बिहीबार

काठमाडौं , १० माघ । सिद्धार्थनगर नगरपालिकाले बेलहियास्थित डण्डा नदीको छेउमा बन्ने पर्यटकीय द्वारको शिलान्यास गरिएको छ । नगरपालिकाले नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक पर्यटकीय द्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।
नगरपालिकाले नेपाल आउने पर्यटकहरुले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिन कलात्मक द्वार निर्माण गर्न लागेको हो । ४ करोड ७५ लाखमा निर्माण हुने द्वार दुई वर्षभित्र सक्नेगरी प्रकृति निर्माण सेवा प्रालि भैरहवाले निर्माणको जिम्मा पाएको छ ।
द्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै द्वारमा बौद्ध ध्वनी गुन्जिनेछ ।
यो नेपालकै नमूना गेट हुने नगरपालिकाको दावी छ । पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा द्वारको डिजाइन तयार पारिएको नगरपालिकाले जनाएको छ ।
द्वारको बुधबार एक समारोहकाबीच प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गरे । उनले लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको विकास गर्नुपर्ने बताए । भुसालले पर्यटक क्षेत्रको विकासमा द्वार कोशेढुंगा सावित हुने बताए ।
नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरमा न्यून बजेट हुँदाहुँदै पनि विभिन्न माध्यमबाट स्रोत जुटाई पर्यटन प्रवर्द्धन गर्न लागिएको जनाए । उनले नगरभित्र बढीभन्दा बढी पर्यटक भित्र्याउन द्वारले सहयोग पुग्ने जनाए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु