रानीमहलमा ‘ईको पार्क’ बन्ने

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं, ३ साउन । पाल्पाको रानीमहलमा पर्यटक लक्षित ईको पार्क निर्माण सुरु गरिएको छ । प्रेमको प्रतीक मानिने रानीमहल क्षेत्रमा हरियाली बगैंचा र विभिन्न किसिमका फूलसहित ईको पार्क निर्माण शुरु गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले पार्क निर्माणलाई अन्तिम रुपमा दिएको छ । रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करिब २ रोपनी क्षेत्रफलमा माटो भर्ने काम अन्तिम चरण पुगेको छ । नर्सरी तथा फलफूल विज्ञको सुझाव तथा निर्देशनमा ईको पार्कमा बिरुवा लगाईने बताइएको छ । प्रदेश सरकारको १६ लाख र स्थानीय उपभोक्ता समितिको ४ लाख गरि २० लाख रुपैयाँमा पार्क निर्माणको काम भईरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी यमलाल पोखरेलले बताए ।
यसैगरी , पश्चिम बागलुङको निसीखोला गाउँपालिका–६ स्थित रिगा ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार सक्रिय भएको छ । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार निर्माण गरी पर्यटन विकासमा स्थानीय सरकारको चासो बढेको हो ।
बागलुङको निसीखोला गाउँपालिकास्थित तालमा पछिल्लो समय पानी सुक्न थालेपछि संरक्षणका लागि गाउँपालिकाले सक्रियता देखाएको हो । प्राकृतिक सुन्दरता र मनोरम दृश्य भएकाले ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ । करिब ३२ सय मिटर उचाईमा रहेको यो तालको लम्बाई १ सय मिटर, चौडाई ६० र गहिराई करिब १२ मिटर छ । यहाँबाट रोल्पा, रुकुम, प्युठान र बागलुङको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु