आज विवाह पञ्चमी: धुमधामका साथ मनाइँदै

२०७६ मंसिर १५ गते, आईतवार

काठमाडौँ, १५ मंसिर । आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी : त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा धुमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइँदै छ । महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् ।मिथिलाको विधिअनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौँको संख्यामा तीर्थालुहरु जनकपुर आउने गर्दछन् । रामजानकीको डोला हेर्न बाह्रविघा मैदानमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ । त्रेता युगमा जुन प्रकारले राम-सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम-जानकीको डोलालाई जनकपुरमा स्वयंवर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन रहेको छ । आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी-कीर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने छ । दुवै डोला बाह्रविघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयंवर कार्यक्रम गरिन्छ । तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने गर्दछ । डोला राम मन्दिर जानकी मन्दिरबाट निस्केपछि डोला हेर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान रामका बुबा अर्थात राजा दशरथका रुपमा भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवमा यसअघि धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ । त्यस्तै आज राम जानकीको विवाह पश्चात शुक्रवार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ । विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाकी, नाचगान, भजनकीर्तन समेत गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु