इन्द्रजात्रा सुरु : आज ‘उपाकु’ यात्रा

काठमाडौं । आज भदौ शुक्ल द्वादशी अर्थात् इन्द्रजात्राको पहिलो दिन ‘उपाकु’ यात्रा गरिएको छ । । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखालगायतका स्थानमा पनि मनाइन्छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरिन्छ। जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ।
इन्द्रजात्राको पहिलो दिन लिंगो ठड्याएपछि बेलुका गरिने उपाकु यात्रा यस वर्ष भने कोरोनाका कारणा निषेधाज्ञा जारी भएको हुँदा विहानको समयमा अत्यावश्यक सेवा प्रवाह गर्न केही खुकुलो भएका कारण विहानै गरिएको हो । इन्द्रजात्राको पहिलो दिन अर्थात् भदौ शुक्ल द्वादशीमा ‘उपाकु वनेगु’ को अवसर पारेर वर्षभरी मृत्यु भएकाको परिवारजनले दियो अनि धुप बाल्दै हिँडेका थिए । यो दिन काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा धुप वा काँचो (नपोलेको) दियो बाल्दै हिँडेमा पितृहरू मोक्षको लागि जाने विश्वास छ । उपाकु हिँड्नेले भिमसेनस्थान, भगवतीबारी, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरेका छन् ।
लिच्छविकालमै सुरू भएकाे मानिने उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्ग आकारको रहेको मानिन्छ । नगर खड्ग आकारमा बनेको हुँदा नगरको सीमा क्षेत्रबाट परिक्रमा गर्दा खड्ग आकारमै गर्नुपर्ने चलन छ । त्यही सीमालाई संकेत गर्दै र मानिस उपाकु मार्गमा नअल्मिउन भन्ने हिसाबमा बाटाे छेउमा सेताे पीठाे पनि छरिएकाे थियाे ।