रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने कार्यतालिका सार्वजनिक

२०७७ भाद्र १९ गते, शुक्रबार



काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
बैठकले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ १९ गते शुक्रबार कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने रहेको छ । कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिने तालिका रहेको छ । सम्भवत: भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ। त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ।
यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन। बुंगद्यस्लाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको स्थानीय बताउँछन्।

प्रतिक्रियाहरु

[anycomment]