यस वर्ष भोटो जात्रा नहुने

२०७७ भाद्र १९ गते, शुक्रबार

काठमाडौं । यस वर्ष ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने बताए । यस्तै, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते साइत मिलेमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने उनले बताए । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु-याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो । विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु