रातो मछिन्द्रनाथको रथ तानिदै

२०७७ भाद्र २१ गते, आईतवार


काठमाडौं । रातो मछिन्द्रनाथको रथलाई आज दिउसो दिउसो तीन बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिदैछ । गाःबहालमा राखिएको मीननाथको रथ पनि आजै सोह्रखुट्टे पाटीसम्म पुर्‍याइनेछ । यससँगै रथलाई सांकेतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् । यसअघि जुन ठाँउमा रथ राखिएको सोही ठाँउका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो । यसपालि सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेको छ । जात्राका अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नखःत्या अर्थात भोज नबोलाउन र नजान आग्रह गरिएको छ । सोमबार मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ । साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती लगेसँगै जात्रा सम्पन्न हुनेछ ।
विगतमा चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याएर भोटो जात्रा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो । यस वर्ष भोटोजात्रा नगरिने भएको छ ।
रथ तान्ने विषयमा बिहीबार झडप भएपछि ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । रथयात्रामा समेत धेरैलाई भेला नहुन आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु