रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साईत जुर्यो

काठमाडौं । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गते रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ । साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो ।
ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको बताए । यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङ्मती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए ।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड-१९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमापूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याएका थिए ।