कोरोनाका कारण बन्द रहेको पर्वतीय उडान शुरु

काठमाडौ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान शनिबारवाट औपचारिकरुपमा खुलेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले शनिबार एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान
ग- यो । जसमा १५० यात्रु सहभागी थिए ।
त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकालेबीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए । यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ । बुद्ध एयरले पनि तीन उडान गर्ने जनाएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो । बुद्धले पर्वतीय उडानका लागि रु आठ हजार ९०० भाडादर तोकेको छ ।
अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।
पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।
आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एयरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एयरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एयरलाइन्सले जनाएका छन् ।