मान्छे खाने बाघ नियन्त्रणमा !

काठमाडौँ । बर्दिया निकुञ्जको गेरुवा क्षेत्रबाट मान्छे मार्न पल्किएको बाघलाई नियन्त्रणमा लिइएको छ। पछिल्लो समय निरन्तर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो। बुधबार मान्छे मार्ने बाघ बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ उत्तरी गोलाको राजिपुर नाकाट भाले पाटेबाघ नियन्त्रणमा लिइएको र डाट गरेर निकुञ्ज मुख्यालय ल्याइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
पाटेबाघले विगत केहि महिनादेखि गोला तथा राजपुर क्षेत्रमा पशु चौपाया तथा स्थानीयको समेत ज्यान लिएर त्रास फैलाएको थियो। बाघ क्यामेरा ट्यापीङ्ग विधिबाट पहिचान गरी नियन्त्रणमा लिइएको हो। बाघ झण्डै १२, १३ बर्षको बुढो भएकाले त्यसको दाँत र नङ्ग्रा पनि झरेको निकुञ्जको प्राविधिक टोलीले जनाएको छ। उक्त बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राख्ने निकुञ्ज मुख्यालयले जनाएको छ। बर्दियामा बाघको आक्रमणबाट एक वर्षमा १० जनाको ज्यान गइसकेकाे छ।
बाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ। केही महिनादेखि पाटे बाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भैरहेका पर्यटकीय गतिविधिहरु मध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।
पर्यटकीय गतिविधिअन्तर्गत जङ्गल ड्राइभ गर्नेहरुले विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ । हिजो एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० पुगिसकेको छ।
पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन् । बाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइ भैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ।