तिनजुरे, मिल्के र जलजल क्षेत्र लालिगुराँस फुलले ढकमक्क

काठमाडौं । गुराँसको राजधानी तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ ।
यसरी यस नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् । यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता छ जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।