विश्व पर्यटन दिवस मनाइदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ । यस वर्षको पर्यटन दिवसको नारा ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ रहेको छ । कोरोना संक्रमण घटेको मौका पारेर सरोकारवाला सरकारी निकाय र पर्यटनसंग सम्वद्ध विभिन्न संघ संस्थाले भौतिक रूपमै दिवस मनाउँदैछन् । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा गठीत ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समितिले पनि भौतिक रुपमै कार्यक्रम आयोजना गर्दैछ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि रक्तादान कार्यक्रम आयोजना गरेको छ । उता, पर्यटकीय नगरी पोखरामा नेपालस्थित ११ देशका राजदूत भेला भएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा हिजो विभिन्न ११ देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ जना पोखरा पुगेका हुन ।