कालीञ्चोकमा आन्तरिक र बाह्य पर्यटकको भीड

काठमाडौं । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ । कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङ भन्नुहुन्छ, “हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नु हुँदैन ।”
कालीञ्चोक भगवती मन्दिर परिसर साथै वरपरबाट आँखै अगाडि देखिने गौरीशङ्कर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङलगायतका हिमशृङ्खलाको कारण पनि कालीञ्चोकको सुन्दरतामा सुनमा सुगन्ध थपिदिएको छ । हिमालै हिमालको बीच र हिउँनै हिउँको पहाडमा रहेकी कालीञ्चोक भगवतीको दर्शनमा भने युवाभन्दा बढी पाको उमेरका भक्तजन आउने गरेका छन् ।
विगतको भन्दा अहिले कुरी बजारमा दर्जनौँ सुविधायुक्त होटल खुलेका छन् । जसले गर्दा कालीञ्चोक आउने पर्यटकको लागि विगतको जस्तो आवासको चिन्ता गर्नुपर्ने छैन । अनलाइनमार्फत कालीञ्चोकको होटल पनि बुकिङ गर्न सकिने स्थानीय होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि आउने पर्यटकका गाडीले तीन किलोमिटरसम्म ट्राफिक जाम हुने गरेको छ । बिदामा परिवार र साथीभाइसहित कालीञ्चोकमा पर्यटक आउँछन् । मन्दिर पनि दर्शन गर्ने र रमाइलोसँग मनोरम दृश्यावलोकनसमेत गर्न पाइने हुँदा कालीञ्चोकमा पर्यटक क्रमशः वृद्धि भइरहेका छन् । कुरीदेखि कालीञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ । कालीञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने, निरोगी हुने, विश्वास रही आएको छ ।