नयाँ बर्ष २०७९ सालको अवसरमा दरबारमार्गमा महोत्सव

काठमाडौं । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नयाँ बर्ष २०७९ सालको अवसरमा काठमाडौंको दरबारमार्गमा महोत्सव हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा बैशाख ३ गते शनिबारका दिन महोत्सवको १५ औं संस्करण आयोजना गर्न लागेको हो । बिहीबार पत्रकार सम्मलेन गरी महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा बालबालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको समेत जानकारी दिए । नेपाली नयाँ बर्षको अवसरमा हरेक बर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गरिंदै आएको छ ।