सुदूरपश्चिममा विसुु पर्व मनाइँदै

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनलाई सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाउने प्रचलन छ । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ ।
यस पर्वमा देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष तथा विसु पर्व मनाउने गर्दछन । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको छ।
यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने गरेको र धेरैजस्तो शक्तिपीठमा पशुबलिसमेत दिने गरिएको छ । डडेल्धुराको प्रसिद्ध अमरगढी–८ मा रहेको उग्रतारा मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ । हरेक वर्ष डडेल्धुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रबार लाग्ने बताइएको छ ।