पर्यटकलाई एक्लै हिँडडुल गर्न रोक !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिडडुल गर्न रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गाइड तथा साथी बिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिडडुल गर्नमा कडाई गरिएको जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चे प्रहरी चौकी भन्दा माथीको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए । यसका लागि प्रहरीको नाम्चे चेक पोष्टलाई सोही अनुसार चेकजाँचमा कडाई गर्न निर्देशन गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
उक्त निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गराउन आफुले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए । यसअघि बर्षेनि खुम्बु क्षेत्रमा आएका विदेशी पर्यटक हराउने गरेका थिए । खुम्बु क्षेत्रमा केही महिना अघि मात्रै एक्लाएक्लै भ्रमणमा आएका एक भारतीय र एक कोरियन नागरिक बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी भएपनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।