अन्नपूर्ण पदमार्गमा पर्यटकको वृद्धि

२०७९ श्रावण १४ गते, शनिबार

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङले वर्षायाममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा वृद्धि भएको जनाएको छ । एक्पापका अनुसार अफ सीजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएकाे हाे । हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी आएकाे जनाएकाे छ। पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन् । केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक ३-४ जनादेखि १०-१२ जनासम्म पर्यटक भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सीजन मानिने भएपनि यो सयममा समेत पदमार्गमा पर्यटक आएका छन् । सन् २०२२ को जुलाइको हालसम्म १ सय ८४ जना पर्यटक भित्रिएका छन् ।
गतवर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । गतवर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटन आउन सकेका थिएन । यसवर्ष बाढीपहिरोका कारण डुम्रे–बेंसीशहर–चामे सडकका विभिन्न खण्डमा बाटो अवरुद्ध भएकाले पर्यटकलाई पदमार्ग आउन समस्या भएको छ । यसै वर्षको जुनमा १ सय ९५ जना, मेमा १ हजार ९६ जना, अप्रिलमा २ हजार ३ सय ८२ जना पर्यटन आएका थिए । मार्चमा १ हजार २ सय ३१ जना, फेब्रअरीमा १ सय ६९ जना र जनवरीमा ४१ जना आएका थिए ।
अफ सीजनको समयमा समेत पर्यटक आएर पदमार्गमा रमाउने गरेकाे एक्यापले जनाएकाे छ । पर्यटकका लागि लमजुङखण्डको सडकमा केही समस्या भएपनि मनाङतर्फको सडक सहज रहेको जनाइएकाे छ । पदमार्ग आउने सडक सहज भए पर्यटकको संख्या बढ्न सक्ने र आगामी भदौ १५ गतेबाट भने पर्यटक बढी भित्रिने जनाइएकाे छ ।
लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रिय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगेर टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने साेही पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु