कश्मीर : आतंकवादी केन्द्रबाट पर्यटन केन्द्रमा परिवर्तन !

काठमाडौँ । भारतको गृह मन्त्रालय अनुसार यहाँ सन् २०२२ मा २२ लाख पर्यटकले भ्रमण गरेका छन् । पहिले यहाँ वार्षिक मुश्किलले ६ लाख पर्यटकले भ्रमण गर्ने गरेका थिए । पहिले जम्मु–कश्मीरको पहिचान भनेकै आतंकवादी केन्द्रको रुपमा रहेको थियो । तर अहिले यो अवस्था रहेन । अहिले यो पर्यटन केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।
गृह मन्त्रालयले जारी गरेको ‘इयर एन्ड रिभ्यु २०२२’ अनुसार जम्मू–कश्मीरमा सन् २०१८ को ४१७ वटा आतङ्कवादी घटना भएको थियो भने सन् २०२१ मा २२९ मा झरेको छ । यस्तै, सुरक्षा बलका जवान शहीद हुनेको संख्या ९१ बाट घटेर २०२१ मा ४२ मा पुगेको छ । गृह मन्त्रालयले अनुसार जम्मू र कश्मीरमा अहिले ढुङ्गा हानेको कुनै घटना छैन किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार दृढताका साथ विकासको मार्गमा अगाडि बढिरहेको छ।
पछिल्लो विवरण अनुसार जम्मू र कश्मीरमा आतंकवादी घटनाहरूमा लगभग ५४ प्रतिशत, सुरक्षा बलहरूको मृत्युमा ८४ प्रतिशत र आतंकवादीहरूको भर्तीमा लगभग २२ प्रतिशत कमी आएको छ । जम्मु र कश्मीरका लागि प्रधानमन्त्रीको विकास प्याकेज अन्तर्गत, जलविद्युतमा ८० हजार करोड भारतीय रुपैयाँको लागतमा लगभग ६३ परियोजनाहरू निर्माण गरिएको छ। ४ हजार २८७ करोडको लागतमा किरु आयोजनाको काम प्रगतिमा रहेको मन्त्रालयले जनाएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले अक्टोबर ५, २०२२ मा श्रीनगरमा लगभग २ हजार करोड रुपैयाँको २ सय ४० विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका थिए।