‘एकसिंगे गैँडा’ लोप हुने खतरा

काठमाडौँ । पर्यटकीय नगरी चितवनको प्रमुख आकर्षणका रुपमा रहेका गैंडा धमाधम मृत फेला पर्न थालेका छन । विश्वकै दुर्लभ वन्यजन्तु ‘एकसिंगे गैडा’ नेपालमा पनि लोप हुने खतरा बढ्न थालेको छ । बुधबार मात्रै निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक एउटा गैंडा मृत फेला परेको छ । निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । खाग र खुर सुरक्षित रहेको अवस्थामा गैंडा मृत फेला परेका हो । यद्यपी गैंडा मर्नुको यकीन कारण भने अझै पत्ता लागेको छैन ।
यसअघि गत माघ ६ गते तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको अवस्थामा फेला परेका थिए । १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको थियो । दुईवटा गैंडा विद्युतीय धरापमा पारेर मारेको अवस्थामा फेला परेका थिए । चालु आर्थिक वर्षको ६ महिनामा निकुञ्जमा चोरीशिकारबाट गैंडा मारिएको यो पहिलो घटना भएको निकुञ्जको दावी छ । तर, कारण नखुलेर मर्ने गैंडाको संख्या धेरै छ ।
चालु आवको पहिलो छ महिनामा मरेका ११ मध्ये आठ गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जले जानकारी दिएको छ ।
विश्वमै चितवन एकसिंगे गैंडाको दोस्रो ठूलो बासस्थान भएको निकुञ्ज हो । सरकारले चितवनसहित, पर्सा, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा संरक्षण र प्रवद्धनका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । तर, वर्षेनि ठूलो संख्यामा गैंडा मरिरहेका छन । गैंडा मर्नुको ठोस कारण पत्ता लाग्न सकेको छैन ।