रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

काठमाडौँ । ज्योतिषीहरुले हेरेको शुभ साइत अनुसार रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ आउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । ज्योतिषीहरुले लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको बताएका छन् । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबै भन्दा लामो जात्रा हो।
मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यस जात्राको सुरुवात गराइएको किंवदन्ती रहेकाे छ ।