काभ्रेको देविस्थानडाँडाबा व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु

२०८० असार ३१ गते, आईतवार


काठमाडौँ । विश्वबजार प्याराग्लाइडिङ प्रालिले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरेको छ । उक्त कम्पनीले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि उक्त प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न लागिएको हो ।
धुलिखेलमा एकैपटकमा छवटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए ।
धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ ।धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो ।प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप माघदेखि परीक्षण उडानसँगै डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्यान्डिङ’का स्थान व्यवस्थित गरी व्यावसायिक उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । उनका अनुसार सुरुआती चरणमा तीन प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान गरिएको थियो भने क्रमशः दश वटाले प्याराग्लाइडिङबाट समेत उडान सञ्चालनमा ल्याइएको छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति पाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु