इन्द्रजात्रामा २० विदेशी पाहुनालाई आमन्त्रण
काठमाडौँ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको छ । महानगरले पत्रकार सम्मेलनमार्फत यस वर्षको इन्द्रजात्रा पर्व अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको जनाएको हो । महनगरका प्रवक्ता नवीन मानन्धरले २० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित भएको जानकारी दिए । उनले यसरी आउने पाहुनाले इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन लगायत कार्यक्रममा सहभागी गराइने जानकारी दिए ।
यस्तै, ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने महानगरले जनाएको छ ।
काठमाडौं महानगरका अनुसार चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगरसँग भगिनी सम्बन्ध कायम छ भने संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ । यस वर्षको इन्द्रजात्रा आउँदो बिहीबार परेको छ ।