चोभारमा जीपलाइन सुरु
काठमाडौँ । चोभारमा आजवाट क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । यो क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ ।
कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको बताए । उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने र द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए ।
अध्यक्ष महर्जनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने र जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको बताए । उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए ।
उक्त कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए ।
यसैगरी, कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने र हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए ।
चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित भएको बताउदै बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताए । उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताए । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।