दोलखा महोत्सव पुस १३ गतेदेखि

काठमाडौँ । दोलखा महोत्सव पुस १३ गतेदेखि हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने वृहत दोलखा महोत्सव हुन लागेको हो । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिए ।
उनले महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने र स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने बताए ।
अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने भएको छ । महोत्सवमा दोलखा जिल्लाका पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उनले जानकारी दिए । महोत्सवमा कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथसाथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए ।