‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु

२०८१ मंसिर २२ गते, शनिबार


काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि आवश्यक काम अगाडि बढाएकोे छ । नगरप्रमुख राजन श्रेष्ठले पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरुपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक स्थापना एवं युद्ध सङ्ग्रामका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएकोजानकारी दिए । उनले चालु आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजित गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको बताउदै भने- “विनियोजित बजेटको काम सुरु गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ । ऎतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र यस आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को निर्माण नगरपालिकामार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध सङ्ग्राम संरचना स्थापनाको अध्ययन भइरहेको छ ।”
विदुर नगरपालिकाले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट नेपाली सेनाको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाइएको छ । विसं १९४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणको लागि यहाँको विदुर नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्व विभाग, बागमती प्रदेश र सङ्घीय सरकार)बाट आर्थिक र प्राविधिक सहयोगप्राप्त हुने प्रतिबद्धता पाएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
विसं १९४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई विशाल ढुङ्गा रहेका छन् । उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जितगढी हुँदै सूर्यगढीसम्मलाई कूटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो ।
दूधेगढीको संरक्षणको लागि विदुर नगरपालिकाले रु एक करोड आठ लाखमार्फत र सूर्यगढीको संरक्षणको लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्व विभागको समन्वय र नेपाली सेनाको सहकार्यमा काम भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार