पोखरा सडक महोत्सव पुस १३ देखि

काठमाडौँ । पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ‘रेबान’ले पोखरा सडक महोत्सवको २६औं संस्करण पुस १३ देखि १७ गतेसम्म गर्ने भएको हो । रेबानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवको मिति घोषणा गरेको हो। महोत्सवमा ११ जिल्लाका स्थानीय उत्पादन प्रयोग गरिने रेबानले जनाएको छ।
रेबानका अध्यक्ष संघर्ष विष्टले पर्यटन प्रवर्धनका लागि सडक महोत्सवलाई निरन्तरता दिन लागेको बताउदै भने- ‘महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास छ। अहिले व्यवसायमा शिथिलता छ। आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुनेछ।’
रेबानले महोत्सवमा प्लास्टिकजन्य सामग्री प्रयोग नगर्ने जनाएको छ। महोत्सव आयोजनाका लागि रेबानले ९१ लाख रुपैयाँ छुट्याएको छ। ५ दिने महोत्सवमा ५ लाखभन्दा बढी सहभागी हुने रेबानको अनुमान छ।
महोत्सवमा रेष्टुरेन्टले आ-आफ्नो आउटलेट अगाडि स्टल राख्नेछन्। लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, लाइभ कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, सचेतनामूलक नाटक प्रदर्शन लगायत गतिविधि महोत्सवका आकर्षण हुने रेबानले जनाएको छ।